लालीगुराँस स्कुलले उचाल्यो पहिलो उपाधि

लालीगुराँस नेसनल एकेडेमीले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लालीगुराँसले २३ स्वर्ण, ९ रजत र ७ कास्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो ।

तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हिमरश्मि १४ स्वर्ण, २१ रजत र १२ कास्य जितका साथ दोस्रो भयो भने १० स्वर्ण र २ रजत जिती किन्डर गार्डेनल तेस्रो भयो । ६ स्वर्ण, ५ रजत र २ कास्य जितका साथ कौशल बोर्डिङ चौथो भयो । टिम च्याम्पियनले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।



विजेता टिमलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याललगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो । यस संस्करणदेखि टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको थियो ।

मंसिर १५ देखि सुरु प्रतियोगितामा २ हजार २ सय ५४ खेलाडीले ७२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचार