नेपाली चलचित्रमा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपालमा 

नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गरेका छन् । छ दिनको छायाङ्कन तालिका तय गरेर अभिनेता जोश नेपाल आउनुभएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिए।

बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले छ दिन छायाङ्कन गरेसँगै चलचित्रको सम्पादनको कार्य सुरु हुने निर्देशक बलामीले बताए । ‘उहाँ नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित हुनुहुन्छ । आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौँमा घुमघाम गरिरहनुभएको छ”, निर्देशक बलामीले भने, ‘चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उहाँलाई अभिनयका लागि अनुरोध गरेका हौँ । सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाउनुहुनेछ ।’



सिमरा र वीरगञ्ज क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र‘देव वाणी’मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र ‘देव वाणी’मा निराजन मेहता मन्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायाङ्कन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले सङ्गीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गरेका छन् ।

सम्बन्धित समाचार