त्रिविको ४९ औँ दीक्षान्तमा पुरस्कृत हुनेहरूको नाम सार्वजनिक, को-को छन् ?(सूचीसहित)

त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाएका छन् ।



कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त गरेका छन् । मानविकी संकाय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाएका हुन् । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् ।

यस्तै स्नातकोत्तर तह अङ्ग्रेजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाएकी छिन् । उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाएकी छन् ।

यस्तै बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाएकी छिन् । व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमविएस)मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएकी छिन् ।

यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र संकायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी संकाय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई÷दुई वटा पुरस्कार पाएका छन् । एमएडमा गणित विषय लिई सर्वप्रथम भएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाएका हुन् । यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम भएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाएका छन् ।

भाइस च्यान्सलर पदक गैरेलाई
यसैगरी २०७८ सालको स्नातक तहतर्फको सात वटा दीक्षान्त पदक र पुरस्कारमध्ये दुईवटा पुरस्कार एकै जनाले पाएका छन् । स्नातक तहको भाइस च्यान्सलर पदक यसपटक स्नातक तहमा सर्वोकृष्ट अंक ल्याउने पक्लिहवा क्याम्पस पक्लिहवा भैरहवाकी अस्मिता गैरेले पाएकी छिन् । उनले ८८ दशमलव २२ प्रतिशत अंक ल्याएकी थिइन् । भाइस च्यान्सलर पदक एक तोला सुन र प्रमाणपत्र हुने गर्दछ ।

मानविकी संकायअन्तर्गत स्नातक तहमा सर्वप्रथम भएकी हेराल्ड इन्टरनेशनल कलेज वसुन्धराकी अस्मिता घिमिरेले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञानप्रसाद पुरस्कार पाएकी छिन् । त्रिविले दीक्षान्त समारोहमा एमफिलतर्फ एक वटा, स्नातकोत्तर तहमा १९ वटा र स्नातक तहतर्फ सात वटा पदक तथा पुरस्कार वितरण गर्न थालेको हो ।

‘कुलपति पदक’ वितरण नगर्ने
यस्तै त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी छुट्टाउन नसकिएकाले प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको कुलपति पदक वितरण नगर्ने जानकारी दिए ।

कुलपति पदक नौवटै संकायमा सबभन्दा बढी अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा आगामी पुस २ गते हुने भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । रासस

सम्बन्धित समाचार