समस्याहरूको चाङमा बसेर नेताहरू एकअर्कोलाई गर्छन् व्यङ्ग्य–विनोद !

मुलुकमा समस्याका अनेक चाङहरू छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, बाटो, पर्यटन, यातायात, कृषिआदि तथा भ्रष्टाचार र अव्यवस्थाजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरू अस्तव्यस्त अवस्थामा छन् । यी क्षेत्रहरू लामो समयदेखि सुधारको पर्खाइमा छन् तर सरकारले कतै पनि आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन । आर्थिक रूपमा मुलुक गम्भीर अवस्थामा पुगेको विज्ञहरू बताउँछन् । आम जनता भने मुलुकले थप क्षति सामना गर्नुपर्ने परिस्थिति आउला कि भनेर भयले त्राहिमाम् भएका बेला नेताहरू भने समस्याहरूको चाङमा बसेर एकअर्कोलाई व्यङ्ग्य–वाण हान्दै आत्मरतिमा रमाइरहेका छन् ।

देशमा भने दिनहुँजसो नयाँ नयाँ काण्डहरू उद्घाटन भइरहेछन् । विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टचारको अखडा बन्दैछ । सेटिङ नमिलेर यहाँबाट दैनिकजस्तै केजीका केजी सुन बरामद भइरहेको छ । भिजिट भिसाका नाममा दैनिक करोडौं रुपैयाँ अध्यागमनकै कर्मचारीको गोजीमा पुग्दैछ । यस्ता प्रकृतिका सबै कार्य पहुँचवाला कर्मचारीको सेटिङबाटै हुने हो । सेटिङ नमिलेका छिटफुट घटना मात्र बाहिरिने हो । देशलाई दुरगामी असर पार्ने यस्ता विषयमा शीर्ष नेताहरूबीच समाधानको लागि कतै पनि कुनै चर्चा परिचर्चा भएको सुनिँदैन । कर्मचारीहरूको तहमा मात्र होइन, नेतासँग पनि भाग मिलेपछि तैं चुप, मैं चुप भइरहने रहेछ ।



खरबौंको एनसेल किनबेच काण्डका बारेमा पनि पार्टीका शीर्ष नेताहरू चुइँक्क बोलेका छैनन् । दुर्गा प्रसाईले हजारौं जनता काठमाडौंमा उतार्छु भन्दा सत्ता र भत्ता जाने डरमा रातारात सर्वदलीय बैठक बस्न सक्ने शीर्ष नेताहरूले अरू जल्दाबल्दा र गम्भीर मुद्दामा किन मौनता धारण गरिरहेका छन् त ? स्पष्ट छ– यस्ता काण्डहरूमा सबै दलका शीर्ष नेताहरूको मिलेमतो हुन्छ । भागबण्डा मिलेपछि को किन बोल्ने ? जनता केही दिन कराउँछन्, थाक्छन् अनि सधैंका लागि मुद्दा सकिन्छ । विगतदेखि नै यस्तै नजिर बस्तै आएको छ ।

जनतालाई लाज चाहिँ त्यति बेला बढी भएको महसुस हुन्छ जब एउटा भ्रष्ट शिरोमणि नेता भ्रष्टाचारविरोधी भाषण गर्छ वा शून्य सहनशीलता र सुशासनका कुरा गर्छ । हामी जनता पनि गलतलाई गलत र सहीलाई सही भन्न सक्तैनौं र उनीहरूकै दास बनिदिन्छौं । जनताको यही सहनशीलताको मर्ममा टेकेर नेताहरू वर्षौंदेखि जनताको उत्थानको कुरा गर्दै जनतालाई नै बेवकूफ बनाइरहेछन् । हिजो पनि त्यस्तै भयो र आज पनि त्यस्तै नै हुँदैछ । लोकतन्त्रमा फरक भनेको केवल कुर्सीमा बस्ने पात्रहरू मात्र फेरिएका छन् ।

भागबण्डाको यति निर्लज्ज खेल अन्यत्र पनि हुन्छ कि नेपालमा मात्र हो ? थाहा भएन तर यही भागबण्डा र मिलेमतोका कारण देश ठूलो दुर्घटनाको सम्मुख उभिएको भान हुन्छ । कति बेला के हुन्छ, भन्न सकिन्न । हजार रुपैयाँ घुस खाने खर्दार–सुब्बासम्म पुग्ने अख्तियारको आँखाले खरबौं भ्रष्टाचार गर्ने ‘ठूला’ लाई भने देख्न सक्तैन । जनार्दन शर्माले ६ अर्बभन्दा बढी अनियमितता गरेको मुद्दा अख्तियारमा नै परेको छ तर पनि अख्तियार मौन छ । ओली, देउवा र प्रचण्ड मिलेर बुढीगण्डकी जलविद्युत आयोजनाबाट ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको भनेर पूर्व प्रम डा. बाबुराम भट्टराइले विभिन्न फोरमबाट भने तर पनि कसैले सुनेनन् । वाइड बडी, क्यान्टोमेन्ट अनियमितता प्रकरण, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टल सुन प्रकरण सबै काण्ड ठूलाकै मिलेमतोमा भए तर सबै काण्ड ओझेलमा पर्नेवाला छन् । नेपालमा सजाय त पकेटमाराले मात्र पाउने हो, अरूले पाउने भनेको त उन्मुक्ति हो । त्यसैले पनि सीमित व्यक्तिका लागि लोकतन्त्र लुटतन्त्र भएको छ भने धेरैका लागि लोकतन्त्र अप्ठ्यारो ठाउँमा निस्किएको पिलोजस्तो भएको छ ।

देश रूपान्तरण गर्ने चाहना राख्ने हो भने आरम्भ आफैंबाट गर्ने हो । साँच्चै सुशासनका कुरा गर्ने र भ्रष्टाचार निर्मुल पार्ने हो भने अहिले प्रचण्ड प्रधानमन्त्री भएकोले आरम्भ पनि उनैबाट गरिनुपर्छ । पछिल्लो ठूलो काण्डका रूपमा चर्चित एनसेल किनबेच काण्डमा प्रधानमन्त्रीकी सुपत्री तथा स्वकीय सचिव गङ्गा दाहलको संलग्नता भएको आरोप सांसद अमरेशकुमार सिंहले नै लगाएका छन् । आरोप मात्र होइन, आफूसँग त्यसको प्रमाण नै रहेको दावी समेत गरेका छन् । यदि हो भने गङ्गाको एकल आँटले मात्र त त्यत्रो काण्ड नभएको हुन सक्छ । त्यसो भए पर्दापछाडि को छ त ? देशको गरिमासँग जोडिएका यस्ता काण्डको निष्पक्ष छानबिन हुने कि नहुने ?

त्यसपछि क्रमशः देउवा, ओली, नेपाल, खनाल र भट्टराई आदिको कार्यकालमा भएका अनियमितताका फायलहरू पनि खोलिनु पर्छ । अनि मुख्य सचिव, सचिव गर्दै उच्च पदका भूतपूर्व तथा बहालवाला सबैको फायल खोल्ने हो भने तलका निकाय सबै ठिक ठाउँमा आइपुग्न कर लाग्छ । मुहान सफा गरेपछि स्वभाविक रूपमा शाखाहरू सफा हुन कर लाग्छ । बौद्धिक विलासका लागि मात्र सुशासन र विधि–पद्दतिका कुरा गर्ने हो भने त आफ्नो अनुकूलमा जसले जे भने पनि हुनेभयो । केही दर्जन मानिसहरूले ताली पड्काइहाल्छन्, मिडियामा हाइलाइट भइहाल्छ, अनि कर्मकाण्ड पूरा हुन्छ । यही तालले त देश र जनताको अवस्था समृद्धितिर होइन, झन पतनतिर उन्मुख हुनेछ । जनताका लागि गणतन्त्र कागलाई बेल पाके सरह हुनेछ !

सम्बन्धित समाचार