गगन–शेखर सम्बन्ध : कहिले नजिक, कहिले टाढा

नेपाली काङ्ग्रेसमा डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच एउटै समूहमा रही सहयात्रा गर्ने र साझा गन्तब्यको खोजी गर्ने भनी हालै भएको प्रतिबद्धताप्रति राजनीतिक वृतमा चर्चाको विषय बनेको छ । यही मङ्सिर २७ गते काठमाडौँको एक पार्टी प्यालेसमा भएको शेखर–गगन भेलापछि कोइराला र थापाबीचको सहकार्यको चर्चा बहसमा आएको हो ।

पार्टीको १४औँ महाधिवेशनमा एकै मञ्चमा आइपुगेका कोइराला र थापाबीच दुई वर्षे यात्रामा शङ्का, उपशङ्का र अविश्वासका खाडलहरु चुलिँदै र पुरिँदै गए । एक अर्काप्रतिको आशङ्का र अविश्वासको सीमा बढ्दै गएर विभाजनको सङ्घारसम्म पुगेपछि मङ्सिर २५ गते कोइराला र थापाबीच घण्टौं बहस र छलफल भयो । कार्यकर्ताहरुको दबाब र संस्थापन पक्षले देखाएको एक पक्षीय निर्णयले दुबैलाई एक ठाउँमा उभिन बाध्य पारेको हुन सक्छ ।



कोइराला र थापाबीच सम्वादको यो वातावरण तयार पारिदिनको लागि माननीय अर्जुननर्सिङ्ग केसीले अथक प्रयास गरेको देखिन्छ । केसीले आफ्नै निवासमा दुई नेतालाई बोलाएर आजसम्मका समग्र मतभेद र एक अर्काे बीचका मनमुटाबहरू माझेर जाने अनुकूल वातावरण बनाइदिएका थिए । यही बसाईको परिणामस्वरुप मङ्सिर २७ गते भएको शेखर–गगन खेमाको भेलामा दुबैजना एउटै मञ्चमा उपस्थित हुनसक्ने वातावरण तयार भयो । र, उनीहरूले दुबै एकताको पक्षमा रहेको र उनीहरूबीच कुनै प्रकारको मतभेद नरहेको सन्देश दिन खोज ।

उक्त भेलामा महामन्त्री थापाले संसदीय दलको नेतामा कोइरालाको नाम अघि सारेर रणनीतिक अस्त्र फ्याँकेका छन् । तर थापाको अस्त्रको कुनै अर्थ नरहेको कोइराला पक्षको बुझाइ देखिन्छ । मङ्सिर २८ गते भएको विराटनगरको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले दलको नेता परिवर्तनको सम्भावना नरहेको अभिव्यक्ति दिए । यस अभिव्यक्तिलाई थापा पक्षले गम्भीर रुपमा लिएको हुन सक्छ ।

संसदीय दलको नेताको उम्मेद्वारी दिँदाको प्रतिबद्धताबाट आफूलाई सेफ ल्याण्डिङ गर्न दलको नेता परिवर्तनको तीर फालेको कोइराला पक्षको बुझाइ छ । कोइराला निकट नेताका अनुसार १५औं महाधिवेशनामा कोइरालालाई सभापति मानेर जान थापाले प्रतिबद्धता जनाएका थिए । १४औं महाधिवेसनमा कोइरालाले सभापतिमा ४० प्रतिशत मत प्राप्त गर्दा थापा लोकप्रिय मतसहित महामन्त्रीमा विजय भएका थिए ।

महामन्त्री थापा आउँदो १५औं महाधिवेशनमा केन्द्रित भएर जिल्ला दौडाहामा लागेका छन् । पछिल्ला दिनहरुमा थापा जिल्लाका कार्यक्रमहरुलाई प्राथामिकतामा राखेर हिँडिरहेका छन् । उता कोइराला पनि के कम, ४० प्रतिशत मतको आडमा आउँदो महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न क्रियाशील देखिन्छन् । १५औं महाधिवेशनमा सभापतिको रेसमा रहेका कोइराला र थापाबीचको सम्बन्धमा दरार पैदा भएको सतहमै देख्न सकिन्छ । दुबै नेताले एक अर्कालाई साइजमा राखेर अगाडि बढ्ने कौशलताको प्रयोग गर्दै गतिशील भएका केही घटनाक्रमले पनि देखाउदै आएका छ ।

केन्द्र र प्रदेशको मन्त्री छनोटमा नेता कोइरालाले महामन्त्री थापालाई बहिष्कार गरेर आफू एकलौटी ढङ्गले अगाडि बढ्दाको परिणामको रूपमा काङ्ग्रेसका ९ जना मन्त्री सरकारमा पुग्दा पनि महामन्त्री थापालाई पावर रिङबाट आउट गरियो । सभापति देउवाले गरेको उपेक्षा र आफ्नै खेमाभित्रबाट प्रस्तावित सभातिका उम्मेद्वार नेता कोइरालाले गरेको बेवास्ताबाट आफू दुःखी भएको गुनासो थापाले आजभोलि विभिन्न कार्यक्रममा पोख्न थालेका छन् ।

कोइराला र देउवाबीच बार्गेनिङ्गको डिल भइरहेको खुलासा समेत थापाले गरेका छन् । उनीहरुबीच ४० प्रतिशतको खेमागत डिल नभएर आफ्नो निजी स्वार्थको डिल भइरहेको आरोप थापाले लगाएका छन् । थापाले आफू देउवासँग संसदीय दलको नेतामा लड्दा कोइरालाबाट सहयोग नपाएको खुलेरै गुनासो पोखेका छन् । प्रेस युनियनको एक कार्यक्रममा थापाले कोशी प्रदेशको प्रसङ्ग कोट्याउँदै देउवालाई भोट हालेर प्रमाण देखाउनेले नै आजभोलि वितण्डा मच्चाउन खोजीरहेको आरोप लगाएका थिए ।

संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने कन्र्फम गरिएता पनि २५ मतमात्र प्राप्त भएको भन्दै देउवाको विकल्प खोज्ने आँटसम्म गर्न नसक्नेहरुले नै अहिले विद्रोहको कुरा गरिरहेको उनको भनाइ थियो । महामन्त्री थापाले समूहभित्र दबाब सिर्जना गराएर संसदीय दलको नेताको उम्मेद्वार बन्न आफूलाई रोक्न खोजेपछि कोइराला थापासँग सशंकित छन् । इतर पक्षका नेताहरुले खेमा जोगाउन दवाब दिएपछि बाध्य भएर कोइराला दलको नेतामा प्रस्तावक बसेका थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई इतर समूहमा प्रवेश गराएर आफूलाई कमजोर पार्न खोजेको कोइरालाको बुझाइ छ । त्यही कारण संसदीय दलमा थापाको समर्थक बसेका शर्मा र पौडेलले इतर प्यानलमा इन्ट्री नपाएको नेताहरु बताउन थालेका छन् । केही महिना अघि काठमाडौको राष्ट्रियसभा गृहमा आयोजित काङ्ग्रेसको रुपान्तरण अभियानको कार्यक्रममा उपस्थित इतर समूहका नेताहरु एउटा उदाहरण हो । त्यस कार्यक्रमलाई अन्तिम समयमा आएर कोइरालाले बहिष्कार गरिदिएका थिए ।

कोइरालाले कोशी प्रदेशमा एमालेको समर्थन लिएर केदार कार्कीलाइ मुख्यमन्त्री बनाउँदा महामन्त्री थापालाई बाइपास गरी निर्णय गर्दा सम्बन्ध धमिलिएको थियो । त्यस बेला कोइरालाले थापालाई बाहिर राखी नेता मिनेन्द्र रिजाललाई च्यापेका थिए । तर मङ्सिर २७ मा ‘हामी एक छौं’ भन्ने सन्देश दिनुलाई दुबै नेताको राष्ट्रियसभा निर्वाचनमा स्वार्थ जोडिएको धेरै नेता तथा कार्यकर्ताको बुझाइ छ ।

गठबन्धनभित्रबाट राष्ट्रियसभामा पाउने सिटका लागि पार्टीभित्र बार्गेनिङ पावर बढाउनका लागि कोइराला र थापाले प्यानलमा ‘हामी एक छौं’ भन्ने देखाउन खोजेको सहजै अनुमान लगाउन सकिन्छ । यसैले पनि कोइराला र थापाको सहयात्रा कति लामो समयसम्म जान सक्छ भन्ने सभापति देउवाको भूमिकाबाट निर्णायक हुने छ ।

१५औं महाधिवेशनसम्ममा शेखरको उमेर लगभग ८० को हाराहारी पुग्न खोज्छ । त्यतिबेला गगन थापालाई शेखर कोइरालाको समर्थन आवश्यकता पर्छ । त्यसैले कोइरालालाई गगनको समर्थन होइन, कोइरालको समर्थन खोज्ने बाटोमा गगन थापा रहेको भन्ने बुझिन्छ । केही दिन अघिको एक भेलामा गगनले संसदीय दलको नेतामा शेखर कोइरालालाई ‘अगाडि बढ्नुहोस्’ भनेका छन् । गठबन्धनमा अब प्रधानमनत्री बन्ने पालो काङ्ग्रेसको भागमा जाने भनिएको छ । त्यसैले पनि संसदीय दलको नेता परिवर्तन गरेर शेखर कोइराला प्रधानमन्त्री हुने र गगन थापा १५औं महाधिवेशनमा सभापति हुने गरी सहकार्य गर्न सके नेता र पार्टी दुबैलाई राम्रो हुने देखिन्छ ।

सम्बन्धित समाचार