सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय, फैसलाविरुद्ध उच्च अदालत जाने

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले आठ वर्ष जेल सजाय तोकेको छ । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला सुनाएको  छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त सजाय सुनाएको हो । पीडित ‘गौशाला २६’ (परिवर्तित नाम) लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । क्रिकेटर सन्दीपले ‘गौशाला २६’ लाई  नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको अदालतको ठहर गरेको थियो ।



गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको थियो, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

यता अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन् ।  क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।

अधिवक्ता घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताएका हुन् ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे ।

सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए ।

लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । यसअघि बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

यो पनि पढ्नुस :

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सम्बन्धित समाचार