एभरेष्ट नेपालले नेपालमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गर्ने

एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपालमा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला, २०८० आयोजना गर्ने भएको छ । ग्रुपले विहीबार काठमाडौंको कान्तिपथस्थित एक होटलमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो ।

मेला फागुन १८ गतेदेखि फागुन २७ सम्म काठमाडौंलगायत नेपालका विभिन्न स्थानहरूमा आयोगना गरिने पनि ग्रुपका संस्थापक अध्यक्ष आरसी कोइरालाले जानकारी दिए । अध्यक्ष कोइरालाले पत्रकारहरूले राखेका विभिन्न जिज्ञासाहरूको पनि जवाफ दिएका थिए ।



एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने पुनीत उद्देश्य राखी करिब २५ वर्ष अगाडि स्थापना गरिएको संस्था हो । स्थापना कालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको छ । आरम्भ कालदेखि हालसम्म यस ग्रुपले विश्वका ७५ भन्दा बढी मुलुकहरूमा नेपाली लोक संस्कृतिलाई शानदार रूपमा प्रस्तुत गरी सांस्कृतिक रूपमा पनि नेपाललाई चिनाउँदै आएको छ । एउटा संस्थाले आफ्नै बल बुतामा नेपाललाई पृथक ढङ्गबाट विश्वमा चिनाउनुलाई सानो कुरा मान्न सकिन्न ।

नेपालमा हुन लागेको यस अन्तर्राष्ट्रिय लोक सांकृतिक मेलाको १२औं संस्करणले फेरि एकपल्ट संसारका विविध लोक परम्परा र नृत्यलाई आफ्नै घरआँगनमा अवलोकन गर्ने अवसर प्रदान गरेको छ । यस सांस्कृतिक मेलामा अष्ट्रिया, बेल्जियम, बोष्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपाललगायतका मुलुकहरूका करिब ३५० भन्दा बढी कलाकारहरूको सहभागिता रहने जनाइएको छ । यो आफैंमा एउटा ठूलो उपलब्धि हो ।

१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आरम्भ यही फागुन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंबाट हुने छ भने काठमाडौं र ललितपुरका विभिन्न ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलका अतिरिक्त उपत्यकाबाहिर दाङ र पोखरालगायतका स्थानहरूमा पनि मेलाको आयोजना हुने जनाइएको छ ।

सम्बन्धित समाचार