आरम्भ भयो १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतिको आधार’ भन्ने मूल नारासहित १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आरम्भ भएको छ । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा औपचारिक रूपमा यस संस्करणको पहिलो मेला आरम्भ भएको हो । मेलामा नेपाललगायत ११ देशको सहभागिता रहने आयोजकले बताए ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप आयोजक रहेको यस मेलामा अष्ट्रिया, बेल्जियम, बोष्टवाना, इण्डोनेशिया, जर्मनी, भारत, मलेसिया, इष्टोनिया, पोल्याण्ड, दक्षिण अफ्रिका र नेपाललगायतको प्रस्तुति रहने छ । ११औं पटकसम्म नेपालमा यस्ता अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सफलतापूर्वक आयोजना गरिसकेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले यस संस्करणलाई पनि भव्यताका साथ सफल पार्ने आत्मविश्वास रहेको ग्रुपका संस्थापक अध्यक्ष आरसी कोइरालाले स्वागत मन्तव्यका क्रममा जानकारी गराए ।



अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि उपस्थिति हुने कार्यक्रम भए पनि कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । प्रधानमन्त्री भौतिक रूपमा उपस्थित हुन नसके पनि मेलाको सफलताको कामना गर्दै पठाएको पत्र कार्यक्रममा वाचन गरेर सुनाइएको थियो ।

पहिलो दिनको प्रदर्शन हेर्न आएका दर्शकहरूले प्रज्ञा भवनको हल खचाखच भरिएको थियो । विभिन्न देशका तर्फबाट प्रस्तुत लोक नृत्य हेरेर दर्शक रमाइरहेका र करतलध्वनिका साथ कलाकारहरूलाई प्रोत्साहन गरिरहेका देखिन्थे ।

फागुन १८ बाट आरम्भ भएको मेला फागुन २७ सम्म जारी रहने छ । यस क्रममा काठमाडौं उपत्यकाबाहिर दाङ, पोखरालगायतका स्थानहरूमा समेत मेलाको आयोजना हुने जनाइएको छ ।

 

सम्बन्धित समाचार