नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
काठमाडौँतर्फ आउँदै गरेको बस काठमाडौँनदीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ भने ३८ जनाको जीवितै उद्धार गरिएको छ । आज (बुधबार) बिहान ५ बजे कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस अनियन्त्रित भै धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा खसेको हो ।
बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नदीमा खसेकामध्ये ३८ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।
आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस :