१० दिनसम्म चलेको साँस्कृतिक मेलामा दस लाखभन्दा बढीले गरे अवलोकन

‘पर्यटक कलाकारको स्वागत सत्कार, ननेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपालमा आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । गत फागुन १८ गतेदेखि फागुन २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विधिवत् उद्घाटन गरिएको थियो । यस १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।

काठमाडौंमा उद्घाटन गरिएपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएका कलाकारहरूले वसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा कार्यक्रम प्रस्तुत गरेका थिए ।



दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै वसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । यस मेला १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी छ ।

विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रणा गरी आयोजना गरिने यो मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनाले आयोजना गरेको हो ।

उद्घाटन सत्रमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक डा। आरसी कोइराला ‘रामचन्द्र’ले भने– ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ । यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने हाम्रो विश्वास रहेको छ ।’

१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलालाई स्थानीय आयोजक दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कलाकुन्ज, लालीगुराँस नेशनल एकेडेमी, नेपाल टेलिकम, बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिका, नेपाल संगीत नाट्य एकेडेमी, विभिन्न अन्तर्राष्ट्रिय संघ–सस्थाहरू तथा विभिन्न सञ्चार गृहहरूको ठूलो साथ र सहयोगी भूमिका रहेको पनि आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले जनाएको छ ।

१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुन नेपाल आएका पाहुना कलाकारहरू सबै आ–आफ्नो देश फर्किसकेको पनि आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार