करिब दुई सय ७४ किलो गाँजासहित तीन जना पक्राउ

देशका विभिन्न स्थानबाट करिब दुई सय ७४ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । बारा, निजगढ नगरपालिका-१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट ना.३९ प २४५३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।



त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २४ किलोसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने ४० वर्षीय विरेन्द्र कुमार राजवंशी र धनकुटा शहिदभुमी गाउँपालिका-२ बस्ने ४५ वर्षीय उत्तम राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगरबाट रानीतर्फ जाँदै गरेको को.२ ह ६५१ नम्बरको अटो टेम्पोलाई जाँच गर्ने क्रममा दुइ ओटा जेब्रा झोलामा रहेको उक्त गाँजा फेला पारी टेम्पो चालक बिरेन्द्र र टेम्पोमा सवार उत्तमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार