नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।
देशका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दोलखा, गौरीशंकर गाउँपालिका-५ सामेली भोर्लेस्थित सडकमा सुरीबाट सिंगटीतर्फ जाँदै गरेको लु.३ त ९७०३ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ तिनेखु बस्ने २३ वर्षीय वुद्धिविर तामाङ र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सामुदायिक अस्तपाल सिंगटी हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-३० स्थित सडकमा रोकी राखेको बा.प्र. ०३-००१ ख ०४०७ नम्बरको ट्रकमा प्र.३-६३००प ३९३८ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-२१ पटेलनगर बस्ने ४० वर्षीय केदार पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रौतहट, वृन्दावन नगरपालिका-८ हुसेनी चोकमा प्रदेश २-०३-००१ च १९१८ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय धर्मेन्द्र मल्लिकको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार अन्य १ जनाको अनामिका अस्पताल गरूडा हुँदै थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता नवलपरासी पश्चिम, बर्दघाट नगपालिका-९ भुताहास्थित सडकमा लु.७२ प ४२०३ नम्बरको स्कुटर र लु.४० प ५३५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर सवार सरावल गाउँपालिका-१ बासा बस्ने २७ वर्षीय विक्रम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।