नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ अमारी बस्ने ३५ वर्षीय बिरेन्द्र गोसाई आफ्नो घर बाहिरको गल्लीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले थप अनुसन्धानको लागि उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापा, गौरादह नगरपालोका-६ दामुना बस्ने ३५ वर्षीय प्रलाद प्रसाई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै डोटी, बडिकेदार गाउँपालिका-२ कोटकेला बस्ने ४२ वर्षीया दुर्गा घर्ती मगर सोही गाउँपालिका-२ ओखलढुङ्गास्थित घट्टभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सोमबार घरबाट घट्ट जान्छु भनि गएकी उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । उता अर्घाखाँची, सितगंगा नगरपालिका-६ अधिकारी टोल घर भई सोही नगरपालिका-५ चाकलढुङ्गा बस्ने ९१ वर्षीय जित बहादुर घर्ती आफ्नो कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता प्यूठान, स्वर्गद्वारी नगरपालिका-३ खोलाखर्क बस्ने ५१ वर्षीय भक्त बहादुर रोक्का मगर सोही नगरपालिका-९ सिम्लेको तिल्केनी गोरेटो बाटोको भिर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ताप्लेजुङ, सिदिङवा गाउँपालिका-७ सुरुम्खिम बस्ने ४२ वर्षीय मिन बहादुर राई सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ सानोसिरुबारी बस्ने ८७ वर्षीया मनमाया मगर सोही नगरपालिका-५ भिमसेन मन्दिर नजिकै बाटोमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । उता उदयपुर, बेलका नगरपालिका-४ बस्ने ६१ वर्षीय दिल कुमार फुँयाल सोही नगरपालिका-३ स्थित ढाक्रेबाँस नजिकै सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, शंखरापुर नगरपालिका-३ जहरसिंपौवास्थित सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।