नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, ग्रामथान गाउँपालिका-६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धामीले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।