नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
रूपन्देही, सुद्धोधन गाउँपालिका-६ वेलहिया घर भई सियारी गाउँपालिका-७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।
मृतकले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।