नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय भोज कुमार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरी, कृष्णसावरण गाउँपालिका-४ बनौलीस्थित सडकमा प्र.२-०१-००१ प ४९१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार महादेवा गाउँपालिका-४ बस्ने ३५ वर्षीय सर्वण कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै चितवन, भरतपुर महानगरपालिका-२३ जगतपुर चोकस्थित सडकमा ग.१ ख ६७३३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य गुरूङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।