नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, राप्ती नगरपालिका-७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.३ त २८७२ नम्बरको ट्याक्टरमा ठक्कर खाई अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटराइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक र ट्रयाक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै भक्तपुर, मध्यपुरठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा पुरानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी बस्ने ६२ वर्षीय राम थापा मगरको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै ललितपुर, महाङ्काल गाउँपालिका-५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ ।
यता बाँके, राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित सडकमा साइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय जुद्ध बहादुर कुवँरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सिरहा, नरहा गाउँपालिका-४ स्थित सडकमा चौहर्वाबाटबाट सिरहातर्फ जाँदै गरेको ना.५० प ६७८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मिर्चैया नगरपालिका-८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लाइफ लङ्ग अस्पताल गोलबजार हुँदै थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।