नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । । आज (शनिबार) बिहान ७ः१५ बजे बा.२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक सडकबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटी रहेका छन् । अठार वर्षीय दिवस रोकाय भने बेपत्ता छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन पुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।