नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्की, अन्नपुर्ण गाउँपालिका-४ सल्लाघारीस्थित सडकमा पोखराबाट भदौरे सल्यानतर्फ जाँदै गरेको ग.१ ज ५५४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२३ कार्कीतघरा बस्ने ५५ वर्षीय लक्ष्मण सुनार र सोही महानगरपालिका-२३ ठुलाखेत बस्ने ५२ वर्षीय जयराम सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार चार जनाको सोही अस्पतालमा र अन्य दुई जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
त्यस्तै रूपन्देही, देवदह नगरपालिका-१० चरङगे जंगलस्थित सडकमा लु.३८ प ५१२८ नम्बरको स्कुटरलाई लु.२ ख.१८३२ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-१४ बेलभरीया बस्ने ४७ वर्षिय हरी घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तु, कपिलबस्तु नगरपालिका-८ मैनिहवास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।