सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बैतडी, पाटन नगरपालिका-८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका-१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाटा नगरपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी रहेका छन् ।

त्यस्तै दोलखा, कालिन्चोक गाउँपालिका-२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु.३ त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यस्तै लमजुङ, मर्स्याङ्दी गाउँपालिका-६ डहरेस्थित सडकमा बा.१७ च १४६५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय बिर सिंह परियारको घटनास्थलमै मृत्यु भएको छ ।

उता मोरङ, बिराटनगर महानगरपालिका-९ महेन्द्र चोकस्थित सडकमा एचआर ३८ वाई ५४९० भारतीय नम्बरको कन्टेनर गाडीले को।१५ प ७६२७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१४ बस्ने ३५ वर्षीया अमिरका कुमारी कुर्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार