नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ ठेङ्गी बस्ने ४० वर्षीय डम्बर कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रमममा मृत्यु भएको हो ।
त्यस्तै कपिलबस्तु, शिवराज नगरपालिका-९ र बिजयनगर गाउँपालिका-२ को सिमानास्थित सडकमा ना.७ ख ९०२३ नम्बरको टिपरको ठक्करबाट सहचालक बिजयनगर गाउँपालिका-२ बस्ने १८ वर्षीय इरफान मुसलमानको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य चौकी चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका-३ नारायणपुरस्थित सडकमा भे.११ प ४४७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ चिलरिया बस्ने ४० वर्षीय पदम राम खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता धादिङ, ज्वालामुखि गाउँपालिका-१ पिपलटारस्थित सडकमा बा.१९ च १६६४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने राजु कुमालको छोरा ६ वर्षीय रमन कुमालको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।