कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्‍याएको खुल्न आएको छ । तत्पश्‍चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए ।



घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अभियुक्तहरूको समेतप्रहरीले खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार