वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।



पक्राउमध्ये पवनले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार