आइपिएलमा दिल्लीद्वारा गुजरात ६ विकेटले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा दिल्लीको यो तेस्रो जित हो भने गुजरातको भने चौथों हार । अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरमा ८९ रनमै समेटिएको थियो । गुजरातका लागि रसिद खानले ३१ रन बनाए भने साइ सुदर्शनले १२ र राहुल टेवाटियाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिए भने इशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २-२ विकेट लिँदा खलिल अहमद र अक्षर पटेलको भागमा समान १-१ विकेट रह्यो । ९० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले ८.५ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रसर-म्याकगुर्कले २० रन बनाए भने साइ होपले १९ रन बनाएका थिए । त्यस्तै अभिषेक पोरेलले १५ रन जोड्दा ऋषभ पन्त १६ सुमित कुमार ९ रनमा अविजित रहे । गुजरातको लागि सन्दीप वरिएरले २ विकेट लिए भने स्पेन्सर जोन्सन र राशिद खानको भागमा समान १-१ विकेट रह्यो ।

जितसंगै दिल्ली ३ जित र ४ हार सहित ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ३ जित र ४ हार सहित ६ अंक नै जोडेको गुजरात रन रेटमा पछि पर्दै सातौं स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे पन्जाब किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्ध भिड्दै छन् ।

सम्बन्धित समाचार