आइपिएलमा लखनउद्वारा चेन्नई ८ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लखनउले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो  ।

जारी सिजनमा लखनउको यो चौथों जित हो भने चेन्नईको भने  तेस्रो हार । लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले अविजित रहँदै ५७ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३० रन बनाए । त्यस्तै ओपनर अजिंक्य रहाणेले ३६ रन जोड्दा महेन्द्र सिंह धोनी २८ रनमा अविजित रहे र कप्तान ऋतुराज गाइकवाडले १७ रन बनाए ।



लखनउका लागि कृणाल पाण्ड्याले २ विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको भागमा समान १-१ विकेट रह्यो । १७७ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १९ ओभरमा २ विकेट गुमाउँदै  पुरा गर्‍यो । लखनउका लागि कप्तान केएल राहुल र  क्विन्टन डि ककलेले अर्धशतकीय पारी खेल्दै क्रमश: ८२ र ५४ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १३४ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे । चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले समान १-१ विकेट लिए । जितसंगै लखनउ ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेको चेन्नई रन रेटमा अघि रहँदै तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

सम्बन्धित समाचार