सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । म्याग्दी, रघुगंगा गाउँपालिका-७ गैराबारी भन्ने स्थानमा लु.२ प ६११२ नम्बरको टिपर शनिबार बिहान दुर्घटना हुँदा टिपरमा सवार दाङ लमही नगरपालिका-८ उसानिबु बस्ने ३५ वर्षीय बिरु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका तीन जनामध्ये टिपरका चालक र सहचालकलाई प्राथमिक स्वास्थ्य केन्द्र चिमखोला हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चिमखोलामा उपचार भइरहेको छ । त्यस्तै प्युठान, माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा.५ प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डागीको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको छ । यस्तै कपिलवस्तु, बुद्धभुमि नगरपालिका-९ चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु.२ त ६९२५ नम्बरको ट्याक्टरमा लु.६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता झापा, कचनकवल गाउँपालिका-६ स्थित सडकमा मे.८ प ८१७ नम्बरको मोटरसाइकल र बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षीय कृष्ण प्रसाद साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार