मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । दोलखा, बिगु गाउँपालिका-३ जामुनेस्थित तामाकोशी नदीमा गौरीशंकर गाउँपालिका-८ बस्ने २७ वर्षीय जय बहादुर तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

जय बहादुर र सोही ठाउँ बस्ने २५ वर्षीय सिम बहादुर तामाङ उक्त नदीमा पौडी खेल्न जान्छु भनी शुक्रबार दिउँसो हिँडकोमा घर फर्कि नआए पछि खोजी गर्ने क्रममा जय बहादुरको शव फेला परेको हो । हाल बेपत्ता भएका सिम बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।



त्यस्तै डोटी, शिखर नगरपालिका-८ डोकेबजारस्थित सेती नदीमा सोही नगरपालिका-८ गोपघाट मथपोरा बस्ने ५८ वर्षीया लक्ष्मी लुहार शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै सप्तरी, सप्तकोशी नगरपालिका-१ पारूहाङ टोल बस्ने ४५ वर्षीय डेफु भन्ने मनोज मगर आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता गुल्मी, सत्यवती गाउँपालिका-६ खैरेनी बस्ने कमल दिन मियाँको छोरा १४ वर्षीय युवराजदिन मियाँ सोही ठाउँस्थित बाडिगार्ड खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनि उक्त खोलामा गएका उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता झापा, मेचिनगर नगरपालिका-११ राम चोक बस्ने ५७ वर्षीय कन्चन राई सोही ठाउँस्थित खाली जग्गामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिरहा, सिरहा नगरपालिका-१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार