आइपिएलमा हैदराबादद्वारा दिल्ली ६७ रनले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो ।

जारी सिजनमा हैदराबादको यो पाँचौं जित हो भने दिल्लीको पाँचौं हार । दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।



उत्कृष्ट सुरुवात गरेको हैदराबाद पावर प्लेमै १२५ रन बनाएको थियो, जुन आइपिएल इतिहासकै अहिले सम्मकै  सर्वाधिक स्कोर हो । हैदराबादका लगि ट्रेभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै ८९ रन भने सहबाज अहमेद २९ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ५९ रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले १२ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ४६ रन बनाए ।

त्यस्तै नतिश कुमार रेड्डीले ३७ रन जोड्दा हेनरिच क्लासेनले १५ र अब्दुल समादले १३ रन बनाए। दिल्लीका कुलदिप यादवले ४ विकेट लिए भने अक्षर पटेलको भागमा एक विकेट रह्यो । २६७ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको दिल्ली १९.१ ओभरमा १९९ रनमा समेटिएको थियो  ।

दिल्लीका लागि जेक प्रेसर–म्याकगुर्कले १८ बलमा सात छक्का र पाँच चौका प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान ऋषभ पन्तले ४४, अभिषेक पोरेलले ४२ र त्रिस्टन स्टब्सले १० रन बनाउनु बाहेक अन्यले  दोहोरो स्कोरमा रन बनाउन असफल रहे ।

हैदराबादको लागि टि नटराजनले ४ विकेट लिए भने मायंक मार्कण्डे र नितिसकुमार रेड्डीले समान २-२ विकेट लिँदा वाशिंगटन सुन्दर र भुवनेश्वर कुमारको भागमा समान १-१ विकेट । जितसँगै हैदराबाद ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार