मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । संखुवासभा, धर्मदेवी नगरपालिका-३ स्थित कोशी करिडोरको २२० केभी लाईन निर्माण कम्पनीको कम्पाउण्डमा तेह्रथुम लालिगुराँस नगरपालिका-१ बस्‍ने २१ वर्षीय आयुश गुरूङ गएराति मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-५ जम्बोस्थित भोटेकोशी नदीमा सोही नगरपालिका-८ पसलडाँडा बस्ने ७० वर्षीय सानुकान्छा तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व, बौद्वीकाली गाउँपालिका-३ थोत्रेनी बस्ने रेवत सारूको छोरी १७ वर्षीया लक्ष्मी सारू सोही ठाउँस्थित काली गण्डकी नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । लक्ष्मी सारू र सोही ठाउँ बस्ने १४ वर्षीया नरिना सारू घर नजिकैको धारामा शनिबार दिउँसो नुहाउन गएकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा लक्ष्मीको शव फेला परेको हो । नरिना सारूको प्रहरीले खोजी गरिरहेको छ ।



यता पर्वत, जलजला गाउँपालिका-५ चिप्लेटी बस्ने ४३ वर्षीय बाबुराम केसी सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्वत, फलेवास नगरपालिका-३ घर भई हाल कुश्मा नगरपालिका-५ मिलमिलाप चोक डेरा गरी बस्ने ३३ वर्षीय कृष्ण बिक सोही ठाउँस्थित नमुना चौतारामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता झापा, शिवसताक्षी नगरपालिका-७ स्थित कन्काई सिँचाई आयोजनाको नहरमा नुहाउन गएकी सोही नगरपालिका-७ बस्ने राजबिर ऋषिदेवकी छोरी १४ वर्षीया सन्जु ऋषिदेव शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।यस्तै कपिलवस्तु, मायादेबी गाउँपालिका-४ चाकरचौडा बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी संखुवासभा, चैनपुर नगरपालिका-१० दमकाँटास्थित अरूण नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार