आइपिएलमा बैंगलोरमाथि कोलकाताको एक रनको रोमाञ्चक जित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रियिमर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि कोलकाताले एक रनको रोमाञ्चक जित हासिल गरेको हो  ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ५० रनको अर्धशतकीय पारी खेले भने फिल साल्टले ४८ रन बनाए । त्यस्तै आन्द्रे रसेल २७ र रमनदीप सिंहले २४ रनमा अविजित रहे भने  रिंकु सिंहले २४ रन जोड्दा वेङ्कटेस अय्यरले १६ र सुनिल नारायणले १० रन बनाए ।



बैंगलोरका लागि यस दयाल र क्यामरुन ग्रिनले समान २-२ विकेट लिए भने मोहम्मद सिराज र लोकी फर्गुसनको भागमा समान १-१ विकेट रह्यो । २२३ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रनमा समेटियो ।

बैंगलोरका लागि विल ज्याक्सले ५५ र रजत पाटिदारले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै दिनेश कार्तिकले २५ रन जोड्दा सूर्यान्श प्रभुदेसाइले २४, कर्ण शर्माले २० र विराट कोहलीले १८ रन बनाए ।

कोलकाताका लागि आन्द्रे रसेलले ३ विकेट लिए भने हर्षित राना र सुनिल नारायणले समान २-२ विकेट लिँदा  मिचेल स्टार्च र वरुण चक्रवर्तीको भागमा समान १-१ विकेट रह्यो । जितसँगै कोलकाता ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोड्दा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा १ जित र ७ हारसहित २ अंक जोडेको बैंगलोर तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार