नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बर्दिया, बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे. १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा झापाबाट भैरहवातर्फ जाँदै गरेको प्र.२-०३-००१ ख ४१७४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धनुषा, मिथिला नगरपालिका-१० स्थित सडकमा प्र.२-०१-००३ क ५५१३ नम्बरको क्रेनले ज.११ प ३५३३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय रामकिशोर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएको उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता झापा, कन्काई नगरपालिका-३ सुरुङ्गा पुलमा रा.१ प ६३०० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई बुधबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ बस्ने ३८ वर्षीय तेज मणि खरेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-१० सादिखोरियामा भलटार देखि पुरानो गाँउतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ त ०४१९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको पछाडीको टायरले किच्दा ट्याक्टरमा सवार कैलाश गाउँपालिका-१० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाइवाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।