सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको  सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम,  सुनवल नगरपालिका-१३ सुन्दर बस्ती डेरा गरी बस्ने गुल्मी घर भएकी ३८ वर्षीया कमला घर्ती मगरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सोही नगरपालिका-१२ भुमही चोकमा युपी ५५ बिटी २५४६ नम्बरको ट्रकले लु.२६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार उनको सामुदायिक अस्पताल भुमही हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उपचार पश्चात डिस्चार्ज भएका छन् ।



त्यस्तै पाल्पा, तिनाउ गाउँपालिका-२ छिसखोलास्थित सडकमा लु.२ ख ८७४ नम्बरको टिपरले लु.१७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रैनादेबी छहरा गाउँपालिका-६ बस्ने ४३ वर्षीय जग बहादुर बलालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका-१० दोदास्थित सडकमा आइसक्रिम बेच्ने साइकल अनियन्त्रित भई सडकबाट करिब ६ फिट तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा साइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नारद रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उनको मृत्यु भएको हो ।

उता रामेछाप, मन्थली नगरपालिका-१ हाटेचौरस्थित सडकमा मन्थलीबाट तिनलालपार्कतर्फ जाँदै गरेको बा.७२ प ९१७२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ३५ वर्षीया सरस्वती माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता गुल्मी, सत्यवती गाउँपालिका-४ मौरीओडारस्थित सडकमा रूद्रवेणीबाट लिम्घातर्फ जाँदै गरेको लु.१ च ४३२० नम्बरको पिकअप गाडी सडकबाट करिब ४० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा पिकअपमा सवार सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार तीन जनालाई मिसन अस्पताल पाल्पा र ५ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ भने ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । पिकअप चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार