हैदराबाद आइपिएलको फाइनलमा, राजस्थान ३६ रनले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वालिफायर-२ को खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दैफाइनलमा पुगेको हो ।

चेन्नईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिच क्लासेनले ५० रनको अर्धशतकीय पारी खेले भने ट्रभिस हेडले ३४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठीले ३७ रन जोड्दा सहबाज अहमेदले १८ र अभिषेक शर्माले १२ रन बनाए ।



राजस्थानको लागि ट्रेन्ट बोल्ट र आभेश खानले समान ३-३ विकेट लिए भने सन्दीप शर्माको भागमा २ विकेट रह्यो । १७६ रनको लक्ष्य लिएर मैदान उत्रेकोराजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १३९ रनमात्र बनाउन सक्यो । राजस्थानको लागि लागि ध्रुव जुरेलले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, यशस्वी जैसवालले ४२ रन जोड्दा टोम खोलेर क्याडमोर र सन्जु स्यामसनले समान १०-१० रन बनाउनु अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।

हैदराबादको लागि शहबाज अहमदले ३ विकेट लिए भने अभिषेक शर्माले २ विकेट लिँदा कप्तान प्याट कमिन्स र टी नटराजनको भागमा समान १–१ विकेट रह्यो । अब उपाधिको लागि हैदराबादले आइतबार कोलकाता नाइट राइडर्ससँग भिड्ने छ ।

सम्बन्धित समाचार