नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।
टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि घरेलु टोली ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो ।
प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ रन बनाए भने कुशल भुर्तेलले २३ रन जोडे । त्यस्तै गुलशन झाले १४ रन जोड्दा सन्दीप जोरा र सोमपाल कामी १२/१२ रन बनाए ।
ह्युस्टनका लागि इमरान शेख जुनियर र जिआ शाहजादले समान २-२ विकेट लिए भने कोरी ड्राई र उस्मान शिनवारीको भागमा समान १-१ विकेट रह्यो । दिएको १२४ रनको लक्ष्य लिएर मैदान उत्रेको ह्युस्टन १८.३ ओभरमा ९६ रनमा समेटियो । उसको लागि जिआ शाहजादले ३५ रन बनाए भने इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६-१६ जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीको प्रदर्शन उल्लेखीय रहेन ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिँदा रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालको भागमा समान १-१ विकेट रह्यो । यसअघि शुक्रबार राति भएको पहिलो खेलमा नेपालले हरीकेन्सलाई ६ रनले पराजित गरेको थियो । नेपाल अब विश्वकपको दुई औपचारिक वार्मअप खेल डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग वार्मअप म्याच खेल्नेछ ।
विश्वकप आगामी १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग डालासमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
अब नेपालले हरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल शनिबार राति खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने तालिका रहेको छ ।