नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।
भारतमा सम्पन्न १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
चेन्नईको चेपाक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा समेटिएको थियो । हैदराबादका लागि प्याट कमिन्सले २४ रन बनाए भने एइडन माक्रमले २० रन जोड्दा हेनरिच क्लासेनले १६ र नितिस कुमार रेड्डीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोलकाताका लागि आन्द्रे रसेलले ३ विकेट लिए भने मिचेल स्टार्क र हर्सित रानाले समान २-२ विकेट लिँदा वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवतीको भागमा समान १-१ रह्यो । ११४ रनको सामान्य लक्ष्य लएर मैदान उत्रेको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको लागि बेंकटेस अय्यरले अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले भने रहनुल्लाह गुर्वाजले ३९ रन जोड्दा श्रेयस अय्यर ६ रनमा नटआउट रहे । हैदराबादको लागि प्याट कमिन्स र शाहावज अहमदले समान १-१ विकेट लिए ।