टी-२० विश्वकप : अमेरिकाद्वारा पाकिस्तानमाथि सुपर ओभरमा ऐतिहासिक जित

टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा विजयी हुँदै ऐतिहासिक जित हासिल गरेको हो ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।



त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ४४ रन बनाए सादब खानले ४० रन जोडे । त्यस्तै सहिन साहा अफ्रिदी २३ रनमा अविजित रहँदा इफ्तिखर अहमेदले १८ रन बनाए । अमेरिकाका लागि नोस्थुस केन्जिङ्गेले ३ विकेट लिए भने सौरभ नेत्रभल्करको भागमा २ विकेट रह्यो । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।

१६० रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रनमात्र बनायो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ५० रनको अर्धशतकीय पारी खेले भने एरोन जोन्सनले ३६ रन बनाए । यस्तै आन्द्रेस गौउसले ३५ रन जोड्दा नितिश कुमार १४ रनमा अविजित रहे भने स्टेभन टेलरले १२ रन बनाए । पाकिस्तानको लागि मोहम्मद अमिर, नसीम शाह र ह्यारिस रौफले समान १-१ विकेट लिए ।

अमेरिकाले सुपर ओभरमा जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित सुपर आठको सम्भावना बलियो बनाएको छ । जितसँगै अमेरिका २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।अमेरिकाले आफ्नो पहिलो खलमा क्यानडालाई ७ विकेटले पराजित गरेको थियो ।

 

सम्बन्धित समाचार