नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडाले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा आफ्नो दोस्रो खेलमा क्यानडाल आयरल्याण्डलाई १२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
न्युयोर्कको नासाउ क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । क्यानडाका लागि निकोलस कृटनले ४९ रन बनाए भने श्रेयस मोभाले ३७ रन जोड्दा प्रगत सिंहले १८ र एरोन जोनसोनले १४ रन बनाए । आयरल्याण्ड का लागि कार्गी योङ्ग र बेरि म्याकार्थीले समान २-२ विकेट लिए ।
१३८ रनको लक्ष्य लिएर मैदान उत्रेकोआयरल्याण्डले निर्धारत २० ओभरमा ७ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि मार्कअडायरले ३४ रन बनाए भने जर्ज डकरेलले अविजित रहँदै ३० रन जोडे । त्यस्तै एडी बलबिरानीले १७ रन जोड्दा कोर्कान टकरले १० रन बनाए । क्यानडाका लागि जेर्मी गोर्डन र डिलोन ह्यालीगरले २-२ विकेट लिए ।
यसअघि क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।