टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी भएका छन् । टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।

बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।



अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।

इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए ।

त्यस्तै फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ ।

दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ४ विकेटले पराजित
त्यसैगरी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । नेदरल्यान्ड्सक लागि स्याब्रान्ड एंगलब्रेचले ४० रन बनाए भने लोगन भान बेकले २३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले १२ र कप्तान स्कट एडवार्डले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि ओटनेइल बार्टम्यानले ४ विकेट लिए भने मार्को जनसेन र एनरिच नोर्तजेको भागमा समान २-२ विकेट रह्यो ।

नेदरल्यान्ड्सले दिएको १ सय ४ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले ७ बल बाँकी हुँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । १२ रन जोड्दा ४ विकेट गुमाएपछि दक्षिण अफ्रिकी इनिङ डेभिड मिलर र ट्रिस्टन स्ट्बसले उकासेका थिए । मिलरले ५९ रनको अविजित अर्धशतकीय पारी खेले भने ट्रिस्टन स्ट्बसको ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । नेदरल्यान्ड्सका लागि भिभन किंग्मा र लोगन भान बिकले समान २-२ विकेट लिए ।

 

सम्बन्धित समाचार