नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।
भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो भने पाकिस्तानको भने जारी प्रतियोगितामा लगातार दोस्रो हार हो ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए भने अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे ।
पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३-३ विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिँदा शाहिन शाह अफ्रिदीको भागमा एक विकेट रह्यो । भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमात्र बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए भनी इमाद वासिमले १५ रन रन जोड्दा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३÷१३ रन बनाए ।
भारतका लागि जस्प्रित बुम्राहले ३ विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट लिँदा अश्रदिप सिंह र अक्षर पटेलको भागमा समान १-१ विकेट रह्यो । यस हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो । यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।