नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।
अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन भने डेविड मिलरले २९ रन जोड्दा ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन बनाए ।
बङ्गलादेशका लागि तान्जिम सकिबले ३ विकेट लिए भने तास्किन अहमदले दुई विकेट लिँदा रिशाद होस्सेनको भागमा एक विकेट रह्यो ।दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमात्र बनायो ।
बङ्गलादेशका लागि टोहिड हृदोयले ४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए भने महमुदउल्लाहले २० रन जोड्दा कप्तान नजमुल हुसेन शान्तोले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेको भागमा समान २-२ विकेट रह्यो ।
यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बङ्गलादेशको दुई खेलमा दुई अङ्क नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अङ्क नै छ । नेपाल र श्रीलङ्का अङ्कविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि हुनेछ ।