टी-२० विश्वकप : पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

जारी प्रतियोगितामा पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । जितसँगै पाकिस्तानले शीर्ष आठको सम्भावनालाई जिवितै राखेको छ । न्यूयोर्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । क्यानडाका लागि ओपनर एरोन जोनसोनले ५२ रनको अर्धशतकीय पारी खेले भने कलिम सनाले १३ रन जोड्दा साद बिन जफरले १० रन बनाए ।



पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले २-२ विकेट लिए भने नसिम साह र सहिन सा अफ्रिदीको भागमा समान १-१ विकेट रह्यो ।
१०७ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १५ खेल अगावै ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि मोहम्मद रिजवानले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान बाबर अजामले ३३ रन बनाए । क्यानडाको लागि डिलन हेलिगरले २ विकेट लिए । यसअघि भएको पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनको हार व्यहोरेको थियो ।

 

सम्बन्धित समाचार