नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हात पार्दै सुपर-८ मा प्रवेश गरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा आयोजक अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको स्पर-८ मा प्रवेश गरेको हो ।
न्युयोर्क स्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाए भने स्टेभन टेलरले २४ रन जोडे । त्यस्तै कोरी एन्डरसनले १५ रन जोड्दा कप्तान एरोन जोन्स र स्याड्ली भान साल्यक्यले समान ११-११ रन बनाए ।
भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिँदा अक्षर पटेलका भागमा एक विकेट रह्यो । १११ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको लागि सुर्यकुमार यादवले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले शिवंम दुवेले ३१ रनमा नट आउट रहे । यस्तै ऋषभ पन्तले १८ रन जोडे । अमेरिकाको लागि सौरभ नेत्रवालकरले २ विकेट लिए भने अली खानले १ विकेट लिए ।
जितसँगै भारत ३ खेलबाट ३ जितसहित ६ अङ्क जोड्दै सुपर ८ मा प्रवेश गरेको छ भने समान खेलमा २ जित र १ हारसहित ४ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।