टी-२० विश्वकपमा अस्ट्रेलिया विजयी हुँदा स्कटल्यान्ड बाहिरियो, इंग्ल्यान्ड सुपर-८ मा

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमाअस्ट्रेलिया विजयी भएको छ । आइतबार बिहान भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया विजयी भएको हो ।

वेस्टइन्डिजको ड्यारेन स्यामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । उसका लागि लागि ब्रान्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने कप्तान रिची बेरिङटनले ३१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा अविजित रहँदा जर्ज मुन्सेले ३५ र म्याथ्यु क्रसले १८ रन बनाए ।



अस्ट्रेलियाका लागि ग्लेन म्यासवेलले २ विकेट लिए भने एस्टन अगर, नाथन इलिस र एडम जाम्पाको भागमा समान १–१ विकेट रह्यो । स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकीय पारी खेले भने मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टीम डेभिड १४ बलमा २४ रनमा अविजित रहे । स्कटल्यान्डका लागि मार्क वाट र सफयान सरिफले २-२ विकेट लिए भने ब्राड व्हिलको भागमा एक विकेट रह्यो । अस्ट्रेलिया विजयी भएसंगै साबिक विजेता इंग्ल्यान्ड पनि टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ । स्कटल्यान्ड र इंग्ल्यान्डको समान ५-५ अंक भएपनि नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै इंग्ल्यान्ड सुपर-८ मा प्रवेश गरेको हो ।

यसअघि शनिबार राति भएको खेलमा इंग्ल्यान्डले आफ्नो अन्तिम खेलमा नामिबियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ४१ रनले हराएको थियो । योसँगै इंग्ल्यान्डको समूह ‘बी’ बाट शीर्ष दुईमा रहँदै सुपर-८ मा खेल्ने सम्भावना उच्च बनेको थियो । अस्ट्रेलिया ४ खेलमा ८ अंक जोड्दै समूह विजेता बन्यो भने समान ५-५ अंक भएपनि स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर-८ मा प्रवेश गरेको छ ।

 

 

सम्बन्धित समाचार