‘मनको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

हालै नेपाली साङ्गीतिक बजारमा ‘मनको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेरेशा विश्वकर्माको गायन तथा उर्मिला बस्नेतको शब्द रचना रहेको गीतलाई हरि लम्सालले सङ्गीत संयोजन गरेका छन् ।

प्रस्तुत गीतको भिडियोमा बुबाआमा एक आपसमा बिछोडिँदा साना नानीहरूको कलिलो मानसपटलमा कतिसम्म मानसिक चोट पर्दछ भन्ने विषयलाई कलात्मक रूपमा उतारिएको छ । स्वयं गायिका टेरेशा विश्वकर्मा नै मुख्य पात्रका रूपमा देखाइएको यस भिडिओमा बुबाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चाले कतिसम्म मानसिक पीडा खप्नुपर्छ भन्ने कुरालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।



चाडपर्व या स्कुल छुट्टी भएको बेला आमा लिन आउँदा सौतेनी बुबाले र बुबा लिन आउँदा सौतेनी आमाले देखाउने गरेको क्रिया/प्रतिक्रियाले बच्चाको मनमा पार्न सक्ने आघात प्रतिधातलाई भिडिओमार्फत प्रस्तुत गरिएको छ । बच्चाहरूले आफ्ना पीडा र भोगाइलाई अरूलार्ई सुनाउन पनि सक्तैन र आफैं पचाउन पनि सक्तैनन् । साथीहरुलाई उनीहरूका बुबाआमाले देखाएको माया देखेर उनीहरूलाई आफ्ना अभिभावकबाट पनि त्यस्तै खालको मायाको चाहना हुन्छ तर त्यस्तो बालसुलभ माया पाउन नसक्ता कस्तो महसुस हुन्छ भन्ने कुरालाई बाल पात्र टेरेशाका माध्यमबाट देखाउन खोजिएको छ । टेरेशाको बालसुलभ चरित्रले दर्शकलाई भावुकमात्र बनाउँदैन, उनले भोगेको पीडालाई गम्भीर भएर सोच्न बाध्य पनि गराउँछ । बालमनोविज्ञानमा आधारित यो एउटा राम्रो साङुगीतिक कोसेली हो ।

भिडियोमा दिनेश पराजुलीको छायाङकन, विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको छ भने गायिका टेरेशा सहित सुवास बमजन, सोनिका शाही ठकुरी राजाराम यादब कमल देवकोटा र समरा जोशीलगायतका कलाकारहरूले जीवन्त अभिनय गरेका छन् । सर्जक बस्नेतले शब्दमार्फत् उठाउन खोजेको विषयलाई भिडियो निर्देशक निकेश खड्काले निक्कै न्याय गरेका छन् ।

भिडियो –

 

सम्बन्धित समाचार