भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका सात रनले पराजित

दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले आइसिसी टी-२० क्रिकेट विश्वकप ज्रिकेट २०२४ को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकोभारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रनको अर्धशतकीय पारो खेले भने अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।



दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए । भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६९ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै क्विन्टन डि ककले ३९ रन जोड्दा क्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाए । भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा पराजित हुन पुग्यो ।

भारतका लागि हार्दिक पांड्याले तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए ।

सम्बन्धित समाचार