नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३-००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक तनहुँ घाँसीकुवा गाउँपालिका-६ बस्ने ३७ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । त्यस्तै दाङ, तुल्सीपुर उपमहानगरपालिका-११ हसनापुरमा तुल्सीपुरबाट बेल्टाकुरातर्फ जाँदै गरेको रा.५ प ८००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय शिशिर रोकाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।