वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँ घर भई काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।

पक्राउ मध्ये श्यामले तीन जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले तीन जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले एक जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार