सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बागलुङ, गलकोट नगरपालिका-२ भुङखानीस्थित सडकमा रा.१ झ २०० नम्बरको पिकअप गाडी सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ ।

गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । घाइते चालकलाई उपचारको लागि नगर अस्पताल गलकोट पठाइएको छ । त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-५ शंकरपुरस्थित सडकमा लु.५२ प ९५६० नम्बरको मोटरसाइकललाई लु.३ च १९८२ नम्बरको गाडीले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ सेमरा बस्ने ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङ, मिक्लाजुङ गाउँपालिका-६ सुन्दरी चोक जंगलस्थित सडकमा किसान चोकबाट टाँडितर्फ जाँदै गरेको प्र.१-०२-०५२ प ४०६४ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक झापा मेची नगरपालिका-१ बाहुनडाँगी बस्ने ४५ वर्षीय कृष्ण थुलुङ राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार