आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र ओमान भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीजमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । नेपाल आज ओमानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने यता जारी सिरिजमा ओमानको भने यो पहिलो खेल हो ।

क्यानडा सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । विश्वकप लिग- २ मा आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेलमा सेप्टेम्बर २२ मा क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि ओमानसँग खेल्नेछ । विश्वकप लिग- २को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

सम्बन्धित समाचार