नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो पटक क्यानडासँग खेल्दैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
जारी सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । यस सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने सिरिजको दोस्रो खेलमा ओमानसँग एक विकेटले हार्न पुग्यो । लगातारका दुई पराजयले नेपाली टोली दबाबमा परेको छ । लिग-२ मा नेपालले ६ खेलमा १ जित र ५हार सहित अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाबमा परेको छ । विश्वकप लिग- २ मा आज तेस्रू खेल खेल्न लागेको नेपालले सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा ओमानसँग खेल्नेछ । विश्वकप लिग- २को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।